विराटनगर / विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कविता प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम भएकी छन् । ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल युग, सामाजिक सञ्जाल तथा विज्ञान र प्रविधि’ विषयमा आधारित प्रतियोगितामा अर्पिताले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा रिजु अधिकारी र विभूति विष्ट द्वितीय तथा प्रिया दर्नाल र सन्ध्या धमला तृतीय भएका छन् । केशव झा, खान्सा तनविर र सहिष्णुता बरालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
विद्यार्थीमा सिर्जनात्मक क्षमता विकास गर्नुका साथै साहित्यप्रति रुचि बढाउने र समसामयिक प्रविधिका विषयमा आफ्ना विचार स्वतन्त्र रूपमा अभिव्यक्त गर्न सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले बताए ।
प्रतियोगितामा सहभागी विद्यार्थीले कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग, डिजिटल प्रविधिको विस्तार, सामाजिक सञ्जालको प्रभाव तथा विज्ञान र प्रविधिले मानव जीवन र समाजमा ल्याइरहेको परिवर्तनलाई कवितामार्फत प्रस्तुत गरेका थिए। प्रविधिको तीव्र विकासले सिर्जना गरेका अवसरसँगै त्यसका चुनौती, मानवीय सम्बन्धमा परेको प्रभाव र बदलिँदो जीवनशैलीलाई समेत विद्यार्थीले सिर्जनात्मक रूपमा उठाएका थिए ।
प्रतियोगिताले साहित्यलाई समसामयिक प्रविधिसँग जोड्दै विद्यार्थीलाई आधुनिक समाजका परिवर्तनलाई कलात्मक ढंगले बुझ्ने र आफ्ना धारणा प्रस्तुत गर्ने अवसर दिएको खड्काको भनाइ थियो । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता र डिजिटल माध्यमको प्रयोग तीव्र भइरहेका बेला विद्यार्थीले यस्ता विषयलाई साहित्यिक सिर्जनामार्फत उठाउनुलाई सिर्जनात्मक शिक्षाको अभ्यासका रूपमा समेत हेरिएको छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, कवि एवं पत्रकार मीनकुमार नवोदित र विमल किशोर श्रीवास्तव रहेका थिए। विषयवस्तु, प्रस्तुति, भाव, विचार, भाषाशैली, बिम्ब–प्रतिक लगायतलाई आधार मानेर पुरस्कृत कवि छनौट गरिएको निर्णायक समितिका नवोदितले जानकारी दिए ।
प्रतियोगिताले विद्यार्थीलाई प्रविधिको प्रयोगकर्ता मात्र नभई त्यसको सामाजिक प्रभावमाथि प्रश्न गर्ने, विश्लेषण गर्ने र सिर्जनात्मक रूपमा आफ्नो धारणा व्यक्त गर्ने अवसर दिएको कलेजले जनाएको छ । साहित्य र प्रविधिबीचको सम्बन्धलाई केन्द्रमा राखिएको कार्यक्रमले डिजिटल युगका सम्भावना र चुनौतीबारे विद्यार्थीमा बहस तथा सिर्जनात्मक सोच विकास गर्नसमेत सहयोग पुगेको आयोजकको भनाइ छ ।
कलेजका निर्देशक डा. रामचन्द्र अधिकारी अधिकारीले सञ्चालन गरेको कार्यक्रममा निर्देशक भूपेन्द्र दाहाल (भूपी), विज्ञान संकायका संयोजक नविनकुमार राय, निर्देशकहरु ललितनारायण मण्डर, अनिलकुमार दास, शेषनारायण चौधरी, नारायण रेग्मीलगायतको उपस्थितिमा भएको प्रतियोगितामा ४८ जना विद्यार्थीहरुले कविता प्रस्तुत गरेका थिए । पहिलो चरणमा सहभागी ९२ जनामध्येबाट दोस्रो चरणका लागि ४८ जना छनौट गरिएको निर्देशक अधिकारीले जानकारी दिए । शिक्षादीपले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको प्रिन्सिपल खड्काको भनाइ थियो ।