An exclusive college for Science and Management
शिक्षादीप कलेजमा ५० लाखको छात्रबृत्ति, उत्कृष्ट ५ विद्यार्थीको शिक्षण शुल्क फिर्ता

विराटनगर ९ चैत । शिक्षादीप कलेज विराटनगरलाई टेकस्पायर कलेज काठमाण्डौंले ५० लाख हस्तान्तरण गरेको छ । शिक्षादीपबाट टेकस्पाएर कलेजमा स्नातक पढ्न जाने विद्यार्थीलाई हरेक साल सो कलेजले ५० लाख बराबरको छात्रवृत्ति दिने सम्झौता गरिएको हो ।

विराटनगरको सिटी प्यालेसमा कलेजले आज आयोजना गरेको कक्षा १२ को व्यवस्थापन र विज्ञान संकायका विद्यार्थी विदाई कार्यक्रममा टेक स्पायर कलेज काठमाण्डौंका निर्देशक स्मरण दवाडीले शिक्षादीप कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्कालाई ५० लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

छात्रबृत्तिले विद्यार्थीको पठन पाठनमा उत्प्रेरणा दिने दवाडीले बताउनुभयो । उहाँले शिक्षादीप काठमाण्डौंबाहिरको उत्कृष्ट कलेज भएको दावी गर्नुभयो । निर्देशक दवाडीले शिक्षादीप कलेजसँगको सहकार्यमा टेक्सपायर कलेजले शैक्षिक कार्यक्रम गरिरहेको बताउनुभयो । छात्रबृत्तिका लागि हस्तान्तरण गरिएको चेक ग्रहण गर्दै शिक्षादीप कलेजका प्रिन्सीपल खड्काले उत्कृष्ट विद्यार्थीले छात्रबृत्ति पाउने बताउनुभयो । उहाँले विद्यार्थीलाई मेहनत गर्न पनि आग्रह गर्नुभयो । विदाई कार्यक्रममा सुशील यादव, स्मृति मल्लिक, स्नेहा आचार्य लगायतका विद्यार्थीले कक्षा ११ र १२ को अध्ययनमा कलेजबाट राम्रो शिक्षा पाएको बताएका थिए । विदाई कार्यक्रममा कलेजले उत्कृष्ट ५ विद्यार्थीलाई सम्मान गर्दै शिक्षण शुल्क वापतको सम्पूर्ण रकम फिर्ता गरेको छ । कलेजले विभाकुमारी नायक, प्रशान्त कार्की, वेदिका साह, श्रृति बरनवाल र केशवकुमार गुप्ताले कलेजमा बुझाएको शुल्क कलेज फिर्ता गरेको प्रिन्सीपल खड्काले बताउनुभयो । कलेजका सञ्चालक तथा जीव विज्ञानका विभागिय प्रमुख रामचन्द्र अधिकारीले शिक्षादीप कलेजले पठन पाठनसँगै विज्ञान, सूचना प्रविधिको कार्यशाला लगायतका गतिविधिहरु नियमित रुपमा गर्दै आएको बताउनुभयो । कलेजले विज्ञान र व्यवस्थापन संकायका १०५० विद्यार्थीको विदाई गरेको निर्देशक भूपेन्द्र दाहालले जानकारी दिनुभयो ।

कलेजका अध्यक्ष तथा कोशी प्रदेश सांसद भीम पराजुली, प्रिन्सीपल खड्का, विज्ञान संकायका को–र्डिनेटर नविनकुमार रोय, व्यवस्थापन संकायका को–र्डिनेटर शंकर भट्टराइ, निर्देशक शैलेन्द्र शिवाकोटी, भुपेन्द्र दाहाल, रमेशकुमार मण्डल, राजेन्द्रप्रसाद यादव, ललितनारायण मन्दार लगायतले विद्यार्थीहरुलाई सफलताको शुभकामना दिनुभएको थियो ।